काठमाडौँ
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। जिल्ला सरकारी वकिल कार्यालयको निवेदनका कारण जिल्ला अदालत काठमाडौँमा तोकिएको आजको सुनुवाइ रोकिएको हो।
जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ हुने तयारी थियो। तर सरकारी वकिल कार्यालयको निवेदनपछि सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ।
यस प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोग लगाइएको छ। ३० जनाभन्दा बढी प्रतिवादीविरुद्ध मुद्दा दायर भएको छ।
उक्त मुद्दामा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका व्यक्तिहरू प्रतिवादी छन्।
अभियोगपत्रअनुसार नक्कली कागजात तयार पारी संगठित गिरोहमार्फत नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने योजना बनाइएको दाबी गरिएको छ। यसै आधारमा करिब साढे दुई वर्षअघि मुद्दा दायर गरिएको हो।
यस प्रकरणमा केही प्रतिवादी पक्राउ परेर थुनामा छन् भने केही धरौटीमा र केही अझै फरार रहेको जनाइएको छ। यसअघि दायर भएका पूरक अभियोगपत्रसमेत जोडेर मुद्दा एकैसाथ सुनुवाइ भइरहेको थियो।
लामो समयदेखि विचाराधीन रहेको यो मुद्दा अन्तिम चरणमा पुगे पनि आजको सुनुवाइ स्थगित भएपछि प्रक्रिया पुनः कहिले अघि बढ्ने भन्नेबारे अन्योल कायम रहेको छ।