काठमाडौँ
सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय बोलपत्र प्रणाली ह्याक गरी ठेक्का प्रक्रियामा छेडखानी गरेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गहिरो अनुसन्धान अघि बढाएको छ। यस घटनामा संलग्न रहेको आरोपमा हालसम्म ६ जना पक्राउ परेका छन् भने थप व्यक्ति र गिरोहको नेटवर्कबारे अनुसन्धान जारी छ।
सीआईबीका अनुसार पक्राउ परेकाहरूमा विभिन्न जिल्लाका व्यक्ति तथा प्राविधिकदेखि व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरू छन्। उनीहरू लामो अनुसन्धानपछि पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानले यो प्रकरणमा ठेक्का प्रक्रियालाई प्रभावित पार्ने गरी प्रणालीमै प्रवेश गरेर बोलपत्रको विवरण परिवर्तन गर्ने र प्रतिस्पर्धी कम्पनीका आवेदन हटाउनेसम्मको गतिविधि भएको देखाएको छ।
अनुसन्धानका क्रममा पीपीएमओकै कर्मचारीको संलग्नता हुन सक्ने आशंकामा पनि छानबिन केन्द्रित गरिएको छ। सीआईबीले सर्भर लग, आईपी एड्रेस तथा प्रयोगकर्ताका युजरनेम–पासवर्डको डिजिटल फरेन्सिक परीक्षण गरिरहेको जनाएको छ। बाहिरबाट मात्र नभई भित्रैबाट पहुँच दिइएको हुन सक्ने सम्भावनासमेत अनुसन्धानको दायरामा रहेको छ।
सीआईबी प्रमुखका अनुसार यो प्रकरणमा एकल समूह मात्र नभई ठूला निर्माण कम्पनी र अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने देखिएको छ। हाल पक्राउ परेकाहरूबाट प्राप्त डिजिटल उपकरण र बयानका आधारमा थप नामहरू खुलेको भए पनि अनुसन्धान प्रभावित हुने भएकाले विवरण तत्काल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
यसअघि पनि केही ठूला ठेक्का ह्याकिङ प्रकरणमा विभिन्न निर्माण कम्पनी र व्यक्तिहरू अनुसन्धानको दायरामा परिसकेका थिए। अहिलेको घटनालाई ती पुराना घटनासँगको सम्बन्धबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ।
पीपीएमओले भने आफ्नो प्रणालीमा अस्वाभाविक गतिविधि देखिएपछि नै साइबर ब्युरोलाई जानकारी गराइएको र अहिले अनुसन्धान निकायसँग पूर्ण रूपमा सहकार्य भइरहेको जनाएको छ। प्रहरीले यस प्रकरणलाई संगठित साइबर अपराधको रूपमा हेरेर थप अनुसन्धान अघि बढाएको छ।