काठमाडौँ
यस साता सेयर बजार झिनो उतारचढावका बीच स्थिरजस्तै देखिएको छ। साताको अन्तिम कारोबारमा नेप्से परिसूचक २८३८.४० अंकमा पुगेको छ, जुन अघिल्लो साताको २८३७.७८ अंकको तुलनामा सामान्य परिवर्तन मात्र हो। यसले बजारमा उल्लेख्य गतिशीलता नभई स्थिरता कायम रहेको संकेत गर्दछ।
साताको सुरुवातमा सोमबार बजार ४.१८ अंकले घटेर २८३३.३६ मा झरेको थियो। नयाँ वर्षका कारण मंगलबार बिदा भएपछि बुधबार बजारमा उल्लेख्य सुधार देखियो र परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ मा पुग्यो। तर बिहीबार पुनः ३३.८३ अंकले घटेर २८३३.०३ मा झरेको बजार शुक्रबार ५.३६ अंकले बढ्दै २८३८.४० मा बन्द भयो। साताभर बजारले २८०८.०२ देखि २८७९.२१ अंकसम्मको दायरा कायम राख्यो।
अन्तिम दिनको कारोबारले स्पिनिङ टप अर्थात् सानो डोजी क्यान्डल बनाएको छ, जसले बजारमा क्रेता र विक्रेताबीच अन्यौलता रहेको संकेत गर्छ। हरियो क्यान्डल देखिनुले सामान्य सकारात्मक मनोबल भए पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन।
हाल नेप्से कन्सोलिडेसन अवस्थामा रहेको छ, अर्थात् निश्चित दायराभित्रै सीमित भएको छ। २८०० अंकलाई बलियो मनोवैज्ञानिक आधारका रूपमा लिँदै बजारले नयाँ उचाइ लिनुअघि शक्ति सञ्चय गरिरहेको विश्लेषण गरिएको छ। लगानीकर्ताहरू पनि अहिले ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन्।
कारोबार रकमका हिसाबले पनि यो साता सामान्य गिरावट देखिएको छ। अघिल्लो साता औसत ८ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा यो साता घटेर ८ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। बुधबार सबैभन्दा बढी १० अर्ब २८ करोडको कारोबार हुँदा शुक्रबार सबैभन्दा कम ७ अर्ब ३९ करोडको कारोबार भएको थियो। घट्दो भोल्युमले बजारमा तत्काल ठूलो उतारचढावको सम्भावना कम रहेको देखाउँछ।
प्राविधिक रूपमा हेर्दा बजारको आरएसआई ५३.१७ मा रहेको छ, जसले खरिदकर्ताको सामान्य प्रभुत्व रहेको संकेत गर्छ। एमएसीडी हिस्टोग्राममा रातो बारहरू छोटिँदै जानुले बिक्री दबाब घट्दै गएको देखिन्छ, यद्यपि स्पष्ट बुलिस संकेतका लागि क्रसओभर हुन बाँकी छ।
त्यस्तै, ९ दिने मुभिङ एभरेजले २८२० मा बलियो सपोर्ट दिएको छ भने २१ दिने एभरेजले २८४६ मा रेसिस्टेन्सको भूमिका खेलेको छ। यदि बजारले २८४६–२८५० को स्तरलाई उच्च भोल्युमसहित पार गर्न सके नयाँ बुलिस ट्रेन्ड सुरु हुने सम्भावना देखिन्छ, जसले बजारलाई २९५० देखि ३००० अंकसम्म पुर्याउन सक्छ। तर, २८२० भन्दा तल झरेमा बजार केही समय साइडवेजमै रहने अनुमान गरिएको छ।