काठमाडौँ
जिल्ला प्रहरी परिसर काठमाडौँले पछिल्ला ६ महिनादेखि फाइल ट्रयाकिङ सिस्टम लागू गरेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एसपी पवन भट्टराईले २०८२ असोजदेखि फोन, म्यासेज र इमेलमार्फत उजुरीकर्तासँग निरन्तर सम्पर्क राख्ने प्रणाली सुरु गरिएको जानकारी दिए।
उनका अनुसार यस अवधिमा ३० हजार ६ सय पटक फोन सम्पर्क, १ हजार ७ सय म्यासेज र १ हजार ५ सय ५० इमेलमार्फत सेवाग्राहीसँग समन्वय गरिएको छ। पीडितसँग नियमित फलोअप गर्दै मुद्दाको प्रगति जानकारी दिने उद्देश्यले प्रणाली लागू गरिएको उनले बताए।
प्रहरीले बैंकिङ कसुर, बकपत्र, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसासम्बन्धी मुद्दामा यो प्रणाली प्रभावकारी भएको जनाएको छ। साथै, गुनासो र सुझाव संकलनका लागि क्यूआर कोड प्रणाली पनि सुरु गर्ने तयारी भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा पछिल्लो ६ महिनामा ८३ हजार ५४० सेवाग्राहीले सेवा लिएको पनि प्रहरीले जनाएको छ। सेवाग्राहीलाई सहज बनाउन नागरिक सहजकर्ता समेत परिचालन गरिएको एसपी भट्टराईले बताए।