काठमाडौँ
विक्रम तिमिल्सिनाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिएका छन्। शुक्रबार काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र को निरीक्षण गर्दै उनले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गरिएको जानकारी दिए।
उनले अब सम्भव काम रोकिने अवस्था नरहने र सेवाग्राहीले छिटो सेवा पाउने दाबी गरे। लामो समयदेखि लाइसेन्स वितरणमा देखिएको ढिलाइ व्यवस्थापन र इच्छाशक्तिको अभावका कारण भएको उल्लेख गर्दै अब समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
मन्त्री तिमिल्सिनाले केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन रहनु दुःखद भएको उल्लेख गर्दै तिनको प्रभावकारी उपयोग गरिने बताए। साथै, नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा प्रदान गर्न निर्देशन दिएका छन्।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना ले आगामी दिनमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरलगायतका कागजात छाप्ने योजना रहेको जानकारी दिए।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकलाई प्राथमिकतामा राख्दै वैशाख १२ भित्र १२ लाख लाइसेन्स छाप्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य लिइएको पनि उनले बताए।