काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ। पार्टीले वैशाख दोस्रो साताभित्र सबै प्रदेशमा समीक्षा बैठक सम्पन्न गर्ने तयारी थालेको जनाएको छ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमितिहरूसँगको परामर्शमा बैठकको मिति तय भइरहेको जानकारी दिएका छन्। केन्द्रीय सचिवालयको आयोजनामा हुने यी बैठकहरूमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं सहभागी हुनेछन्।
विज्ञप्तिअनुसार अध्यक्ष लिङ्देनसँगै केन्द्रीय पदाधिकारीहरू पनि सातै प्रदेशमा पुगेर समीक्षा बैठकमा सहभागी हुनेछन्। प्रदेशस्तरमा हुने यी बैठकहरूमा सम्बन्धित प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अध्यक्षहरू, हालैको निर्वाचनमा उम्मेदवार बनेका नेताहरू र जिल्ला निर्वाचन समितिका संयोजकहरूको व्यापक सहभागिता रहने जनाइएको छ।
राप्रपाले निर्वाचन परिणामको समग्र समीक्षा गर्दै आगामी रणनीति तय गर्ने उद्देश्यले यी बैठकहरू आयोजना गर्न लागेको हो।