काठमाडौँ
संयुक्त राष्ट्रसङ्घले ‘आरोग्य दिवस’को मान्यता दिएपछि बुधबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रममा सरकारका उच्च अधिकारी, प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ का रूपमा मनाउने घोषणा गरेका छन्। उनले आरोग्य पर्यटनलाई नेपालको ‘सफ्ट पावर’का रूपमा विकास गर्ने सरकारको नीति रहेको उल्लेख गरे।
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले आरोग्यलाई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था भएको बताए। उनले नेपाललाई आरोग्य पर्यटनको विश्वव्यापी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सभामुख अर्यालले विश्वमा बढ्दो मानसिक तनाव, जलवायु सङ्कट र द्वन्द्वका बीच आरोग्य मानवताको आशाको किरण हुन सक्ने धारणा व्यक्त गरे। त्यस्तै, पर्यटनमन्त्री पौडेलले नेपालले विश्वलाई शान्ति र आत्मिक सन्तुलनको सन्देश दिन सक्ने बताएका थिए।
जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न दीर्घकालीन नीति, संरचना र उच्चस्तरीय आयोग आवश्यक रहेको बताए। कार्यक्रममा ध्यान, योग सत्र, आरोग्य पर्यटन रणनीति तथा लोगोसमेत सार्वजनिक गरिएको थियो।
नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मान्यता दिएको हो। सोही अवसरमा विश्वमै पहिलो पटक यो दिवस मनाइएको बताइएको छ।