काठमाडौँ
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुँदैछ। उक्त मुद्दा हाल अन्तिम सुनुवाइको चरणमा पुगेको छ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा आजका लागि पेसी तोकिएको हो। यसअघि अदालतले पक्षहरूलाई बहस नोट पेस गर्न आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग दाबी गरेको छ।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्रीका रूपमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप छ।
त्यस्तै, नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको निर्णयमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको थियो। साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत अतिरिक्त जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ।
उक्त प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको आरोपसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।