काठमाडौँ।
नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने लक्ष्यका साथ आजदेखि एक महिने ‘जरा अभियान’ सुरु गर्दैछ। आगामी असोजमा तय भएको महाधिवेशनलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस अभियानको उद्घाटन पार्टी सभापति गगन थापाले आज दिउँसो १ बजे काठमाडौं जिल्ला कार्यालयबाट गर्ने कार्यक्रम छ।
अभियानअन्तर्गत प्रत्येक क्रियाशील सदस्यले आ-आफ्नो वडामा पुगेर सदस्यता नवीकरण गर्नुपर्ने र पार्टी विधानअनुसार शपथ लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। वडामा गएर नवीकरण नगर्ने सदस्यहरूले आगामी महाधिवेशनमा सहभागी हुन पाउने छैनन्।
पार्टीभित्र तत्कालीन सभापति शेर बहादुर देउबा पक्षले यस अभियानप्रति असहमति जनाउँदै सहभागी नहुने संकेत गरे पनि सभापति थापाले कार्यक्रमलाई अघि बढाएका हुन्। यसबारे थप निर्णय लिन भोलि कार्यसम्पादन समितिको बैठक समेत बोलाइएको छ।
महामन्त्री प्रदीप पौडेलले यो अभियान क्रियाशील सदस्यता खारेज गर्न नभई अद्यावधिक गरेर पार्टीलाई गाउँ-गाउँमा मजबुत बनाउन ल्याइएको स्पष्ट पारेका छन्। विगतका प्राविधिक त्रुटिहरूलाई सुधार्दै यसपटक परिष्कृत प्रणालीमार्फत सदस्यता अद्यावधिक गरिने उनले बताए। यसले पार्टी र कार्यकर्ताबीचको सम्बन्धलाई थप जिम्मेवार बनाउने कांग्रेसको विश्वास छ।