काठमाडौँ
नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले वृद्धि भई २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ, जसले सुनको मूल्य तीन लाख नजिक पुगेको संकेत गरेको छ।
अघिल्लो दिन अर्थात् वर्ष २०८२ को अन्तिम दिन सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५७ हजार ३० रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५४ हजार ३७० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३४३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।