काठमाडौँ
केरा आयात रोकिँदा बजारमा मूल्य करिब ४० प्रतिशतले बढेको छ भने राज्यले दैनिक करिब ५० लाख रुपैयाँ राजस्व गुमाइरहेको व्यवसायीहरूले बताएका छन्। आयात अवरुद्ध भएपछि वार्षिक २८ करोडभन्दा बढी राजस्व संकलन हुने फलफूल व्यवसाय क्षेत्र समेत प्रभावित भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार पछिल्लो एक वर्षमा केराको थोक मूल्य उल्लेख्य रूपमा बढेको छ। गत वर्ष चैत २८ गते प्रतिदर्जन करिब १५० रुपैयाँ रहेको केरा अहिले २१० रुपैयाँ पुगेको देखिएको छ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्मर बानियाँले सरकारको निर्णयलाई अदूरदर्शी र अव्यवहारिक भन्दै आलोचना गरेका छन्। उनका अनुसार ‘टीआर–४’ रोगको कारण देखाउँदै भारतीय केरा आयातमा रोक लगाउँदा बजारमा आपूर्ति संकट सिर्जना भएको हो।
उनले मंसिरपछि नेपालमा केरा उत्पादन न्यून हुने भएकाले आपूर्ति सहज बनाउन आयात आवश्यक रहेको बताए। तर आयात रोकिएपछि बजारमा अवैध रूपमा केरा भित्रिन थालेको र यसले मूल्य अझ बढाएको उनको दाबी छ।
बानियाँका अनुसार वैधानिक आयात रोकिँदा भन्सार तथा राजस्व संकलन प्रभावित भएको छ भने राज्यले दैनिक करिब ५० लाख रुपैयाँ गुमाइरहेको छ। उनले खुला सीमाको फाइदा उठाएर गैरव्यवसायीहरूले अवैध रूपमा केरा भित्र्याइरहेको आरोप पनि लगाए।
उनले अवैध आपूर्तिका कारण गुणस्तर र स्वास्थ्य परीक्षण नभएको केरा उपभोक्तासम्म पुग्ने जोखिम बढेको भन्दै सरकारको नीतिमाथि प्रश्न उठाएका छन्। आपूर्ति अभावका कारण केही दिनमै बजारमा केराको चरम अभाव हुने र मूल्य अझ बढ्ने उनले चेतावनी दिएका छन्।
व्यवसायीहरूले स्वदेशी उत्पादन पर्याप्त नभएको समयमा आयात खोल्नुपर्ने माग गरेका छन्। उनीहरूले किसान, व्यवसायी र सरकारबीच समन्वय गरेर उत्पादन हुने समयमा आयात रोक्ने र अभाव हुँदा खुला गर्ने नीति आवश्यक रहेको बताएका छन्।
अध्यक्ष बानियाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग पटक–पटक छलफल प्रयास गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। उनले सरकारलाई व्यवसायीको समस्या पनि सुन्न आग्रह गर्दै तत्काल समाधानका लागि वार्ता गर्नुपर्ने माग गरेका छन्।