काठमाडौँ
संयुक्त राज्य अमेरिका र इरान बीचको युद्धविराम अनिश्चित बन्दै जाँदा विश्व बजारमा कच्चा तेलको भाउ पुनः बढ्न थालेको छ। एसियाली बजारमा बिहीबार बिहानको कारोबारमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य उल्लेख्य रूपमा उकालो लागेको हो।
दुई हप्ताका लागि सर्तसहित गरिएको युद्धविरामकै बीच इजरायल ले लेबनान मा आक्रमण गरेपछि क्षेत्रीय तनाव फेरि चर्किएको छ। यसप्रति प्रतिक्रिया दिँदै इरानले आक्रमण जारी रहे कडा जवाफ दिने चेतावनी दिएको छ, जसले ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ।
यसअघि युद्धविराम घोषणा भएपछि तेलको मूल्य घटेको थियो। विशेषगरी स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षाले आपूर्ति बढ्ने आशा गरिएको थियो। विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै ढुवानी हुने भएकाले यसको सुरक्षा विश्व ऊर्जा बजारका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
तर इरानले अमेरिकी–इजरायली आक्रमणको प्रतिकारस्वरूप उक्त मार्ग प्रयोग गर्ने जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएपछि त्यहाँको आवतजावत प्रभावित भएको छ। यसले आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गर्दै मूल्यमा दबाब बढाएको छ।
अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.२ प्रतिशतले बढेर प्रति ब्यारेल ९६ डलर ७० सेन्ट पुगेको छ भने अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट २.८ प्रतिशतले बढ्दै ९६ डलर ९० सेन्टमा कारोबार भइरहेको छ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरान सम्बन्ध अझै नाजुक अवस्थामा रहेकाले तेल आपूर्ति र ढुवानीमा अनिश्चितता कायम रहने देखिन्छ। साथै केही तेल तथा ग्यास पूर्वाधार क्षतिग्रस्त भएकाले पूर्ण मर्मतमा समय लाग्ने र त्यसले मूल्य उच्च रहने सम्भावना रहेको बताइएको छ।
यसबीच डोनाल्ड ट्रम्प ले समयसीमा तोकेर युद्धविरामको घोषणा गरेका थिए। उनले सम्झौता असफल भए गम्भीर परिणाम आउने चेतावनी दिँदै ऊर्जा बजार अझै अस्थिर रहने संकेत गरेका छन्।