काठमाडौँ
खड्गप्रसाद शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले दुवै जनालाई हिरासतबाट मुक्त गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ सर्तमा उनीहरूलाई रिहा गरिएको हो। भदौ २३ र २४ मा भएको घटनाको छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई चैत १४ गते पक्राउ गरिएको थियो।
यसअघि काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभएसम्म हिरासत मुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरेको थियो।
उक्त आदेशअनुसार अदालतले दिएको तेस्रो म्याद बुधबारसम्म मात्रै कायम रहेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले चैत २५ पछि उनीहरूलाई हिरासत मुक्त गर्न निर्देशन दिएको थियो।
मन्त्रिपरिषद्ले पनि भदौ २३ र २४ को घटनाबारे कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ। सो घटनाका बेला गोली प्रहारबाट किशोरहरूको मृत्यु भएको थियो, जसताका ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए।
स्वास्थ्य समस्याका कारण ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन् भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी बलको गणमा राखिएको थियो।