काठमाडौँ
नेपाली काँग्रेसले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले उक्त निर्णय लोकतान्त्रिक मूल्य मान्यता र उदार अर्थतन्त्रको नीति विपरीत भएको आरोप लगाउँदै तत्काल फिर्ता लिन सरकारसँग माग गरे।
उनले सरकारले निजी सञ्चारमाध्यमलाई दिँदै आएको विज्ञापन रोक्ने निर्णयले सञ्चार क्षेत्रको आर्थिक आधार कमजोर बनाउने र प्रेस स्वतन्त्रतामा असर पार्ने बताए।
सांसद केरुङले नयाँ सरकार गठनसँगै निजी क्षेत्रका सञ्चारमाध्यमलाई धराशायी बनाउने खालको निर्णय हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
सरकारले गत बुधबार सचिवस्तरीय निर्णयमार्फत संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई सरकारी सञ्चारमाध्यममार्फत मात्र विज्ञापन तथा सूचना प्रकाशन–प्रसारण गर्न निर्देशन दिएको थियो।
उक्त निर्णयप्रति देशभरका निजी अखबार, टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यमहरूले असन्तुष्टि जनाउँदै आएका छन्।