काठमाडौँ।
अमेरिका र इरानबीच दुई हप्ताका लागि भएको युद्धविराम सम्झौतालाई इजरायलले स्वीकार गरेको छ। यद्यपि, इजरायलले यो सम्झौता लेबनानको हकमा भने लागू नहुने स्पष्ट पारेको छ।
इजरायलले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार, इरानले तत्काल 'होर्मुज स्ट्रेट' खोल्नुपर्ने र अमेरिका, इजरायल तथा अन्य देशहरूमाथिको आक्रमण बन्द गर्नुपर्ने सर्तमा मात्र यो युद्धविरामलाई समर्थन गरिएको हो। इजरायलले इरानलाई आणविक हतियार र आतङ्कवादबाट टाढा राख्ने अमेरिकी प्रयासमा आफ्नो पूर्ण साथ रहने समेत बताएको छ।
यसैबीच, युद्धविरामका लागि मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आगामी शुक्रबार (१० अप्रिल २०२६) इस्लामावादमा दुवै देशका प्रतिनिधिबीच निर्णायक वार्ता हुने जानकारी दिएका छन्। सरिफले यो समझदार कदमको स्वागत गर्दै इस्लामावाद वार्ताले सबै विवाद अन्त्य गरी स्थायी शान्तिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन्। अमेरिकाले पनि आफ्ना क्षेत्रीय सहयोगीहरूसँग समन्वय गर्दै वार्तालाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।