काठमाडौँ
गृहमन्त्री सुदन गुरुङले पदभार सम्हालेपछि विभिन्न कसुरमा ९ जना ‘हाइप्रोफाइल’ व्यक्तिहरू पक्राउ परेका छन्।
जेनजी आन्दोलनका अगुवा गुरुङले चैत १३ गते गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै सुरक्षा निकायलाई कारबाही अघि बढाउन निर्देशन दिएको बताइएको छ। सोही क्रममा पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीसहितका उच्च पदस्थ व्यक्तिहरू पक्राउ परेका हुन्।
सरकारी स्रोतअनुसार गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णयपछि सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको थियो। त्यसपछि विभिन्न चरणमा पक्राउ प्रक्रिया अघि बढेको हो।
पक्राउ पर्नेमा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वसभासद् कर्ण मल्ल, पूर्वमन्त्री दिपक खड्का, प्रदेश सांसद रेखा शर्मा, काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल, व्यवसायी दीपक भट्ट तथा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र सञ्चालक सुलभ अग्रवाल रहेका छन्।
प्रहरीका अनुसार केहीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने केहीलाई अदालतको आदेश वा स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राखिएको छ।
यसैबीच, गुण्डागर्दी नियन्त्रणका लागि चलाइएको विशेष अपरेसन अन्तर्गत थप ३३ जनालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।