काठमाडौँ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्। विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रकृति सुरक्षित र पशुपक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताइन्।
मन्त्री मेहताले रोग नियन्त्रणका लागि जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीच आपसी सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिन्। नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले पछिल्लो समय मानव र पशुपक्षीबीचको अन्तरसम्बन्धका कारण नयाँ स्वास्थ्य चुनौतीहरू थपिएको बताइन्।
उनले पशुपक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दै गएको किटजन्य रोग तथा वातावरणीय प्रदूषणका कारण क्यान्सर, मुटुरोग र मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। साथै, एन्टिमाइक्रोबियल औषधिको अत्यधिक प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ जस्तो गम्भीर समस्या निम्त्याएको भन्दै यसको समाधानका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताइन्।
सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ कार्यान्वयनमा ल्याइसकेको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्। उनले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि प्रयोग गर्न आग्रह गरिन्।
कार्यक्रममा उनले जनचेतना अभिवृद्धिका लागि सञ्चारकर्मी, सङ्घसंस्था तथा सम्बन्धित निकायहरूलाई सहकार्य गर्न आह्वान गरिन्। यस वर्ष विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ।