काठमाडौँ
गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट बनेको छ। कात्तिक, मंसिर र पुस महिनालाई समेटेर गरिएको मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमध्ये १९.५ अङ्क प्राप्त गर्दै मनाङ पहिलो स्थानमा रहेको हो। मनाङका प्रमुख जिल्ला अधिकारीका रूपमा उपसचिव नवराज पौड्याल कार्यरत छन्।
यसै मूल्याङ्कनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय सबैभन्दा कमजोर देखिएको छ। काठमाडौँले सोही पूर्णाङ्कमध्ये जम्मा ३ अङ्क मात्र प्राप्त गरेको छ। काठमाडौँमा प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव ईश्वरराज पौड्याल कार्यरत छन्।
मूल्याङ्कन अनुसार १९.३७५ अङ्कसहित नुवाकोट दोस्रो स्थानमा रहेको छ भने १९.२५ अङ्कका साथ डोटी तेस्रो र पर्वत चौथो स्थानमा रहेका छन्। अन्य जिल्लाहरूको प्रदर्शन पनि सोही आधारमा क्रमबद्ध गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयअन्तर्गतको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा यस्तो मूल्याङ्कन गर्ने गर्दछ। महाशाखा प्रमुख सुरेश पन्थीका अनुसार विभिन्न सूचक (इन्डिकेटर) तय गरेर जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादनको आधारमा अङ्क प्रदान गरिन्छ।
यस प्रकारको मूल्याङ्कनले जिल्लाहरूको कार्यक्षमता मापन गर्नुका साथै सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ।