काठमाडौँ
कलाकार सागर लम्साल ‘बले’ विरुद्ध बलात्कारको आरोप सम्बन्धी औपचारिक जाहेरी नपरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउन कठिनाइ भएको जनाएको छ ।
संयुक्त राज्य अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै आफू सागर लम्सालबाट बलात्कृत भएको आरोप लगाएकी थिइन् । उक्त सार्वजनिक आरोपका आधारमा प्रहरीले लम्साललाई नियन्त्रणमा लिएको हो ।
तर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अहिलेसम्म पीडित पक्षबाट कुनै औपचारिक जाहेरी दर्ता भएको छैन । प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले भने, “संवेदनशील विषय भएकाले प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो, अहिले उहाँलाई होल्ड गरेर थप अनुसन्धान भइरहेको छ ।”
जाहेरी नपरेसम्म बलात्कार सम्बन्धी मुद्दा अघि बढाउन नसकिने भएपछि प्रहरी अहिले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने तयारीमा छ ।
प्रचलित कानुनअनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद थप गरी आरोपितलाई थुनामा राख्न सकिने व्यवस्था छ । सोही प्रक्रिया अनुसार प्रहरीले लम्सालमाथि थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ ।