काठमाडौँ
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा विरुद्ध दायर दुई वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो। शर्मा विरुद्ध गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व चुहावटसम्बन्धी आरोप लगाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध करिब १० अर्ब २ करोड रुपैयाँभन्दा बढी राजस्व छुट दिई राज्यलाई हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको थियो। आयोगले उनीहरूले बदनियतपूर्वक कर छुट दिएको दाबी गरेको छ।
यसअघि विशेष अदालतले दिएको फैसलाविरुद्ध असन्तुष्टि जनाउँदै प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। सर्वोच्च अदालतले विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको ठहर गर्दै पुनः सुनुवाइ गर्न आदेश दिएपछि मुद्दा पुनः विशेष अदालतमा फर्किएको हो।
यसैबीच, शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दा पनि छ। अख्तियारको अनुसन्धानअनुसार उनले सरकारी सेवामा रहँदा वैध आयभन्दा करिब चार करोड रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको उल्लेख छ। उक्त मुद्दामा उनकी पत्नी कल्पना उप्रेती शर्मालाई पनि प्रतिवादी बनाइएको छ।