काठमाडौँ
नेपाली काँग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। इजलास गठन हुन नसकेपछि मुद्दाको सुनुवाइ अघि बढ्न नसकेको हो।
निर्वाचन आयोगले नेपाली कांग्रेसको नेतृत्व तथा कार्यसमितिबारे गरेको निर्णयविरुद्ध निवर्तमान सभापति शेर बहादुर देउबा पक्षले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने तय भएको थियो। तर, इजलास नतोकिएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ।
यसअघि सर्वोच्च अदालतले सो विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहित सम्बन्धित पक्षहरूलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसअनुसार आयोग, कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापा पक्षले लिखित जवाफ पेस गरेपछि मुद्दा सुनुवाइका लागि पेसीमा चढाइएको थियो।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि नेपाली कांग्रेसभित्र आधिकारिकताको विवाद चर्किएको हो। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
देउवा पक्षले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएको छ भने निर्वाचन आयोगको निर्णय र नयाँ कार्यसमिति अवैधानिक रहेको भन्दै खारेजीको माग गरिएको छ।