काठमाडौँ।
मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दुःख दिने र 'सेटिङ' मिलाउने नाममा ठगी गर्ने ६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी चलखेल गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लामो समयदेखि मालपोत कार्यालयमा बिचौलियाहरूको बिगबिगी बढेको, सेवाग्राहीलाई विभिन्न बहानामा झुक्याउने र ठगी गर्ने गरेको व्यापक गुनासो आएपछि प्रहरीले सक्रियता देखाएको हो। पक्राउ परेकाहरूले कार्यालयका कर्मचारीसँग सेटिङ मिलाइदिने र काम छिटो गरिदिने प्रलोभन देखाएर सेवाग्राहीबाट अवैध रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस घटनालगत्तै मालपोत कार्यालय भरतपुरले एक सार्वजनिक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाएको छ। कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित जग्गाधनी वा कानुन बमोजिम दर्ता भएका 'भू–सेवा सञ्चालक' बाहेक अन्य कसैलाई पनि कार्यालय परिसरमा प्रवेश नदिइने स्पष्ट पारेको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार, अब सेवासम्बन्धी कुनै पनि काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन वा आधिकारिक भू–सेवा सञ्चालकले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइनेछ। साथै, आधिकारिक भू–सेवा सञ्चालकहरूले पनि कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा बोक्नुपर्ने नियम लागू गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक निकायमा हुने बिचौलियाको चलखेल र भ्रष्टाचार अन्त्य गर्न यो कदम चालिएको जनाएको छ। प्रहरीले पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएको छ।
मालपोत कार्यालयले आफ्ना सेवाग्राहीहरूलाई कुनै पनि अपरिचित वा अनधिकृत व्यक्तिको भर नपर्न र सिधै आधिकारिक प्रक्रिया अपनाउन विशेष आग्रह गरेको छ। यो नयाँ व्यवस्थाले मालपोतको सेवा प्रवाहमा पारदर्शिता आउने र वास्तविक सेवाग्राहीले सास्ती खेप्नु नपर्ने विश्वास लिइएको छ।