काठमाडौँ
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरले रातको समयमा सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न उक्त सेवा सुरु गर्न लागेको हो।
सेवा अन्तर्गत दुई प्रमुख रुट सञ्चालन गरिनेछन्। पहिलो रुट ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म रहनेछ। दोस्रो रुट थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ।
यी दुवै रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्। बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने र हरेक २० मिनेटको अन्तरमा तोकिएका स्टपहरूमा सेवा उपलब्ध हुने महानगरले जनाएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बेलुका ८ बजेपछि सार्वजनिक यातायातको अभावका कारण यात्रुहरूलाई महँगो यात्रा गर्नुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गर्न लागिएको हो। उनले विशेषगरी महिला, किशोरी तथा विद्यार्थीहरूले रातको समयमा भोग्नुपरेको असुरक्षा र आर्थिक समस्यालाई सम्बोधन गर्न यो सेवा उपयोगी हुने विश्वास व्यक्त गरेकी छन्।
सेवालाई सुरक्षित र भरपर्दो बनाउन बसहरूमा सीसीटीभी क्यामरा जडान गरिनेछ भने नगर प्रहरीको पनि व्यवस्था गरिने महानगरले जनाएको छ। साथै, सेवा सञ्चालनलाई दीर्घकालीन, आधुनिक र एकीकृत बनाउन साझेदारहरूसँग सहकार्य गर्ने योजना रहेको पनि उल्लेख गरिएको छ।