खर्चालु पर्यटक घट्दा नेपालको पर्यटनमा चिन्ता बढ़्यो

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

21
Share
Featured

काठमाडौँ

नेपालमा खर्चालु पर्यटक आगमनमा ‘खतराको घण्टी’ बज्न थालेको संकेत देखिएको छ। सन् २०२६ को मार्च महिनामा युरोप र अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ। यद्यपि, सार्क तथा अन्य एसियाली मुलुकबाट पर्यटकको संख्या बढेकाले समग्र पर्यटन आगमन भने सन्तुलित देखिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा कुल १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशतले कम हो। समग्र आगमनमा सामान्य गिरावट भए पनि छिमेकी देशबाट आएको पर्यटक वृद्धिले पर्यटन क्षेत्रलाई केही हदसम्म टेवा दिएको छ।

तर, पश्चिमी मुलुकबाट आउने पर्यटकमा भने ठूलो गिरावट देखिएको छ। युरोपबाट आउने पर्यटक १८.९ प्रतिशतले घटेका छन् भने बेलायत, फ्रान्स र जर्मनीबाट आउने पर्यटकको संख्या क्रमशः १९.७, ३०.२ र १३.२ प्रतिशतले कमी आएको छ। त्यसैगरी, अमेरिकी महादेशबाट आउने पर्यटक पनि २५.४ प्रतिशतले घटेका छन्। संयुक्त राज्य अमेरिकाबाट मात्रै २८.१ प्रतिशतले कमी आएको देखिन्छ।

पश्चिम एसियामा बढ्दो तनाव र इन्धनको मूल्यवृद्धिलाई यस गिरावटको मुख्य कारण मानिएको छ। धेरै पर्यटकहरूले पश्चिम एसियाली मुलुक तथा थाइल्यान्ड, कोरिया जस्ता देशलाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने भएकाले त्यहाँको अस्थिरताले नेपालको पर्यटनमा प्रत्यक्ष असर परेको देखिन्छ। साथै, अन्तर्राष्ट्रिय बजारमा इन्धन महँगिँदा हवाई भाडा बढ्नुले पनि पर्यटक आगमनमा थप दबाब सिर्जना गरेको छ।

यता, सार्क तथा अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। सार्क क्षेत्रबाट मात्रै ४२ हजारभन्दा बढी पर्यटक आएका छन्, जसमा भारतबाट सबैभन्दा धेरै आगमन भएको छ। बंगलादेश, चीन र म्यानमारबाट पनि पर्यटकको संख्या बढेको छ भने अस्ट्रेलियाबाट आउने पर्यटकमा पनि वृद्धि देखिएको छ।

यद्यपि, संख्या बढे पनि खर्चालु पर्यटकको कमीले पर्यटन उद्योगमा चिन्ता थपिएको छ। युरोप र अमेरिकाबाट आउने पर्यटकहरू प्रायः लामो समय बस्ने, ट्रेकिङ र पर्वतारोहणजस्ता गतिविधिमा संलग्न हुने तथा दैनिक खर्च पनि उच्च हुने गर्छन्। यसको विपरीत, छिमेकी देशबाट आउने पर्यटकको बसाइ छोटो र खर्च पनि तुलनात्मक रूपमा कम हुने भएकाले समग्र आम्दानीमा असर पर्न सक्ने देखिन्छ।

यस अवस्थामा, विशेषज्ञहरूले पर्यटन क्षेत्रको दीर्घकालीन सन्तुलनका लागि उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने रणनीतिमा जोड दिनुपर्ने बताएका छन्।

यो समाचारमा

नेपाल पर्यटन बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...