काठमाडौँ
गृहमन्त्री सुदन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालबीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा ‘बोर्डर पट्रोलिङ’ मजबुत बनाउने विषयमा छलफल भएको छ।
मंगलबार गृहमन्त्री गुरुङ सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोक पुगेर उच्च अधिकारीहरूसँगको छलफलमा सहभागी भएका हुन्। छलफलका क्रममा उनले सीमा क्षेत्रमा हुने तस्करी र अन्य अवैध गतिविधि रोक्न गस्ती प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
बैठकमा सीमा सुरक्षासँगै विपद् व्यवस्थापनका विषयमा पनि विस्तृत छलफल भएको थियो। विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक रणनीति, पूर्वतयारी, स्रोत व्यवस्थापन र निकायगत समन्वयबारे विचारविमर्श गरिएको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन्।
छलफलमा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। अन्य संगठनात्मक सुधारका विषयमा पनि छलफल भएको जनाइएको छ।