जेनजी आन्दोलन प्रकरणः तत्कालीन सीडीओ छवि रिजाल पक्राउ, गम्भीर लापरवाहीको आरोप

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि रिजाल तेस्रो व्यक्तिका रूपमा पक्राउ परेका हुन्।

प्रहरीले उनलाई मंगलबार बिहान काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट घातक बल प्रयोग हुँदा भएको मानवीय क्षतिको जिम्मेवार ठहर गर्दै उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसअनुसार उनलाई पक्राउ गरिएको जनाइएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले उक्त घटनामा तत्कालीन प्रजिअ रिजाललाई दोषी किटान गर्दै उनीविरुद्ध फौजदारी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सम्बन्धित व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

आयोगको प्रतिवेदनअनुसार बानेश्वरमा करिब चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा समेत स्थिति नियन्त्रण गर्न तथा बल प्रयोग रोक्न प्रभावकारी पहल नगरेको भन्दै रिजालमाथि गम्भीर लापरवाही (हेलचेक्र्याइँ) को आरोप लगाइएको छ। साथै, कर्फ्यु आदेश जारी भएपछि पनि सुरक्षा निकायहरूबीच समन्वय गर्न नसकेको र बल प्रयोगका मापदण्ड पालना गराउन असफल भएको निष्कर्ष आयोगले निकालेको छ।

उक्त घटनामा अधिकारीहरूको लापरवाहीका कारण ठूलो मानवीय क्षति भएको ठहर गर्दै आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८२(१) अनुसार कानुनी कारबाही गर्न सिफारिस गरेको थियो।

तर, पक्राउ परेका रिजालले भने आफूले घातक हतियार प्रयोग गर्ने आदेश नदिएको दाबी गरेका छन्। उनले संसद भवनको सुरक्षा र प्रदर्शनकारीको ज्यान जोगाउने ‘डुअल अब्जेक्टिभ डक्ट्रिन’ अनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको तथा अन्तिम विकल्पका रूपमा घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मात्र मौखिक आदेश दिएको बताएका छन्।

रिजालका अनुसार प्रदर्शनकारीहरू संसद भवनतर्फ बढेपछि उनले तत्कालीन गृहमन्त्री, मुख्यसचिव र गृहसचिवलाई जानकारी गराउँदै उनीहरूकै निर्देशनमा कर्फ्यु लगाइएको थियो। साथै, उनले सुरक्षाकर्मीलाई संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न पटक–पटक निर्देशन दिएको दाबी गरेका छन्। यद्यपि आयोगले भने उनलाई उक्त घटनाको जिम्मेवारीबाट उन्मुक्ति दिन नमिल्ने स्पष्ट पारेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...