काठमाडौँ
शोभा पाठकले एमाले सचिव महेश बस्नेत विरुद्ध कारबाहीको माग गर्दै आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ पुगेकी छन्। आफूलाई पीडित बनाइएको दाबी गर्दै उनले बस्नेतलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी हुन्।
पाठकले जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता गराएको जाहेरीमाथि सरकारी वकिल कार्यालयले सुनुवाइ नगरेको आरोप लगाएकी छन्। सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्ले ले अभियुक्तलाई जोगाउन खोज्दै मुद्दा अघि नबढाएको उनको गुनासो छ।
उनका अनुसार बस्नेतविरुद्ध जबरजस्ती करणी, भ्रूण हत्या र बलात्कारजस्ता गम्भीर आरोपमा जाहेरी दर्ता गरिएको थियो। उच्च अदालतको आदेशअनुसार थप प्रमाणसहित मुद्दा अघि बढाउन भनिए पनि सरकारी वकिलले त्यसलाई बेवास्ता गरेको उनले बताइन्।
‘उच्च अदालतले फैसला गरेको मुद्दामा पनि फाइल अघि बढाउनुको साटो अभियुक्तलाई जोगाउन खोजिएको छ,’ पाठकले भनिन्। उनले न्याय नपाएसम्म सरकारी वकिल कार्यालय परिसरमै धर्नामा बस्ने चेतावनी दिएकी छन्।
यसैबीच, पाठकले प्रहरी र सरकारी वकिल दुवैले आफ्नो मुद्दामा हेलचेक्र्याइँ गरेको आरोप लगाउँदै प्रहरीबाट फाइल सरकारी वकिलकहाँ पुगे पनि त्यहाँबाट अघि नबढाइएको दाबी गरेकी छन्।