काठमाडौँ।
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले बालेन्द्र शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोमा कडा आपत्ति जनाएकी छन्। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको यो कदमलाई 'अपरिपक्व' र 'अत्यन्तै संवेदनशील' भन्दै यसले दूरगामी प्रभाव पार्ने चेतावनी दिएकी छन्।
भण्डारीले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको दाबी गर्दै हतारमा गरिएको यस्तो निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउने र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउने उल्लेख गरेकी छन्। "यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल खाँदैन," विज्ञप्तिमा भनिएको छ।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो कदम चालिनु दुःखद् भएको बताउँदै उनले लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी तत्काल फिर्ता लिन सरकारलाई सुझाव दिएकी छन्। कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया र संस्थागत परामर्श आवश्यक हुने उनको ठहर छ।
