काठमाडौँ।
नेपाली काँग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पक्राउ पछि विकसित राजनीतिक घटनाक्रमबारे रणनीति तय गर्न इतर समूहका २० जना नेताहरू ठमेलको एक होटलमा भेला भएका हुन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा भइरहेको उक्त बैठकमा डॉ. शेखर कोईराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, डा. मिनेन्द्र रिजाल लगायतका प्रभावशाली नेताहरू सहभागी छन्।
पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरी महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ। यस्तै, पक्राउ परेका एमाले अध्यक्ष ओलीलाई भने स्वास्थ्य समस्याका कारण शिक्षण अस्पतालमा भर्ना गरिएको छ। लेखकको पक्राउबारे कांग्रेसले हालसम्म आधिकारिक प्रतिक्रिया नदिएको अवस्थामा इतर समूहको यो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेले भने अध्यक्ष ओलीको पक्राउ विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।