काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारलाई बधाई दिँदै सरकारका सकारात्मक निर्णय र पहलहरूमा आफ्नो पार्टीको साथ रहने बताएका छन्। युवा नेतृत्व र नयाँपनलाई स्वागतयोग्य कदम भन्दै उनले यो मन्त्रिमण्डलका लागि आशा र परीक्षा दुवै भएको टिप्पणी गरे।
बस्नेतले नयाँ सरकारका सामु अवसरसँगै गम्भीर चुनौतीहरू पनि रहेको उल्लेख गर्दै अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्न सुझाव दिएका छन्। "सत्ता अवसर नभई उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला," उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, "स्थिरता, विकास र समृद्धिको जनअपेक्षा पूरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ।"
उनले सबै पक्षसँग सहकार्य गर्दै अनुभव र ऊर्जालाई मिलाएर अघि बढ्न सरकारलाई आग्रह गरे। एमालेले सरकारका राम्रा काममा सावधानीपूर्वक साथ दिने र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।