काठमाडौँ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र पूर्ण कार्यतालिका पारित गर्ने निर्णय गरेको हो।
बैठकले तय गरेको नयाँ कार्यतालिका अनुसार तल्लो तहका अधिवेशनहरू भदौ २ गतेदेखि सुरु हुनेछन्। जसअनुसार भदौ २ गते वडा अधिवेशन, ७ गते गाउँ/नगर अधिवेशन, १७ गते प्रदेश क्षेत्रीय अधिवेशन र २४ गते क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ।
त्यसैगरी, जिल्ला अधिवेशन असोज २ र ३ गते तथा प्रदेश अधिवेशन असोज ७ र ८ गतेका लागि तय गरिएको छ। बैठकले निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेको छ। कांग्रेसले यस महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण र नयाँ नेतृत्व चयनको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।