काठमाडौँ
बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त हुन लागेकामा उनको सपथग्रहणको शुभ साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा तय गरिएको छ। राष्ट्रपति कार्यालयले सोही साइतमै सपथग्रहण कार्यक्रम सम्पन्न हुने जानकारी दिएको छ।
सपथग्रहण समारोहलाई विशेष बनाउन विभिन्न धार्मिक परम्पराहरू समेटिने भएका छन्। समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने कार्यक्रम रहेको छ। साथै सनातन परम्पराअनुसार ७ जना ब्राह्मणद्वारा शंखनाद गर्ने तयारी गरिएको बालेननिकट स्रोतले जनाएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको थियो। २७५ सिटमध्ये प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै पार्टी दुई तिहाइ नजिक पुगेको हो।
उक्त परिणामपछि रास्वपाले चैत १३ गते सरकार गठन गर्ने तयारी गरेको छ। सोहीअनुसार पार्टीले आफ्ना बरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।