काठमाडौँ।
कोलम्बियामा एक सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। पेरुसँगको सीमा क्षेत्रमा रहेको पुएर्तो लेगुइजामोबाट उड्न लाग्दा 'हर्कुलस सी-१३०' नामक विमान धावनमार्गको अन्तिम बिन्दुमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
सशस्त्र बलका प्रमुख ह्युगो अलेजान्ड्रो लोपेजका अनुसार विमानमा १२८ जना सवार थिए, जसमा ११५ सैनिक, ११ वायुसेना सदस्य र २ प्रहरी अधिकारी रहेका थिए। दुर्घटनामा ५७ जना घाइते भएका छन् भने ४ जना अझै बेपत्ता छन्। विमान खस्ने क्रममा आगलागी भएको र भित्र रहेका विस्फोटक पदार्थहरू पड्किएका कारण ठूलो क्षति भएको बताइएको छ।
भौगोलिक विकटताका कारण सुरुमा स्थानीय बासिन्दाले घाइतेहरूलाई मोटरसाइकलमार्फत अस्पताल पुर्याएर उद्धार सुरु गरेका थिए। हाल घाइतेहरूको विभिन्न सैनिक क्लिनिक र अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको त्यहाँका रक्षामन्त्री पेड्रो सान्चेजले जानकारी दिएका छन्।