‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

Author

सजिलो पत्रिका

२०८२ चैत ०९, सोमबार

16
Share
Featured

काठमाडौँ

काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । 

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले उक्त अवस्थालाई नियन्त्रण गर्न लक्षित गर्दै विशेष चेकिङ अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ अभियान सञ्चालन गरेका छौँ । उक्त अभियानमा राइड सेयरिङका १७५ जना चालक कारबाहीमा परेका हुन् ।” उहाँका अनुसार कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमति बिना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए ।

यसैगरी, जथाभावी स्थानमा यात्रु चढाउने र झार्ने (पिक एन्ड ड्रप) कार्य, सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीसाधनको नियमित मर्मतसम्भार गर्नु, चालकले आवश्यक कागजात बोकेको हुनु तथा तोकिएका नियमको पालना गर्नु अनिवार्य हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै चालकहरूले यी आधारभूत मापदण्डको बेवास्ता गर्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।”

विशेषगरी व्यस्त चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास तथा मुख्य सडकमा जथाभावी रोकिएर यात्रु ओसारपसार गर्दा यातायात अवरोध हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसप्रति कडाइ गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीको भनाइ छ ।

आगामी दिनमा पनि यस्ता अनुगमन अभियानलाई अझ प्रभावकारी बनाइने र नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारबाही गरिने प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो । उहाँले सर्वसाधारणलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका सेवाहरू मात्र प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

ट्राफिक प्रहरीले यस अभियानलाई निरन्तरता दिँदै सवारी व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ । साथै, राइड सेयरिङ कम्पनीलाई पनि आफ्ना चालकको अनुगमन कडाइ गर्न तथा नियम पालना सुनिश्चित गर्न आग्रह गरिएको छ । यस अभियानले उपत्यकाको ट्राफिक अनुशासन कायम गर्न र यात्रु सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा लाखौँ रूपैयाँ ठगी गर्ने पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाही बरहथवा नगरपालिका–२ का ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौँ महानगरपालिका–१६ की ४३ वर्षीया उमा गुरुङ, कास्की पोखरा महानगरपालिका–३३ का ३३ वर्षीय आशिष महत र रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ की ३५ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पौडेलले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ३० हजार, भुजेलले माल्दिभ्स पठाउने भन्दै रु दुई लाख ९९ हजार गुरुङ र महतले बेलायत पठाउने भन्दै जनही रु दुई लाख तथा श्रेष्ठले पोर्चुगल पठाउने भन्दै रु तीन लाख ६८ हजार ठगी गरेका थिए । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...