काठमाडौँ।
काठमाडौँ महानगरपालिका र सडक विभागबीच ट्राफिक बत्ती मर्मतको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। कमलपोखरी र नक्साल क्षेत्रका सामान्य मर्मतले चल्न सक्ने बत्तीहरूलाई हटाएर सडक विभागले ठूलो बजेटमा नयाँ पोल र उपकरण जडान गरेपछि महानगरले यसलाई 'हस्तक्षेप' र 'सार्वजनिक स्रोतको दुरुपयोग' भनेको छ।
महानगरले आफ्नै बजेटबाट मर्मत गर्ने तयारी गरिरहेका बेला विभागले ११ महिना पुरानो ठेक्काको हवाला दिँदै काम अघि बढाएको हो। विभागका ट्राफिक युनिट प्रमुख राकेश महर्जनले ठेक्का अनुसार नै काम भएको दाबी गरे पनि कलङ्की, पद्मोदय र माइतीघरका धेरै बत्तीहरू अझै बिग्रिएकै अवस्थामा छन्। जाइकाको सहयोगमा जडान गरिएको ५० लाखभन्दा बढीको 'सिंक्रोनाइजेसन' प्रणाली पनि सञ्चालनमा नआउँदै ध्वस्त हुनुले विभागको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।
महानगरका सडक सुरक्षा सल्लाहकार जगतमान श्रेष्ठका अनुसार सङ्घीय निकायले राजमार्ग र ठूला पुलमा ध्यान दिनुपर्ने र सहरी ट्राफिक व्यवस्थापन स्थानीय सरकारलाई छाड्नुपर्ने संवैधानिक मर्म छ। ललितपुर र काठमाडौं महानगरले आफ्नै पहलमा स्मार्ट लाइट र राडर प्रणाली जडान गरी प्रभावकारिता देखाएका बेला सडक विभागले समन्वय नगरी काम गर्दा नीतिगत भ्रष्टाचारको आशङ्का उब्जिएको छ। यसले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउनुको साटो सरकारी निकायहरूबीचको अविश्वास र सार्वजनिक लगानीको जोखिम बढाएको छ।