काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने नयाँ सरकारलाई शर्तसहित समर्थन गर्ने प्रस्ताव गरेका छन्। सामाजिक सञ्जालमार्फत थापाले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टीका ५ सांसदले पूर्ण सहयोग गर्ने बताएका हुन्।
हाल रास्वपा नेतृत्वको सरकारलाई संसदमा दुई-तिहाइ बहुमत पुर्याउन केवल २ सिटको अभाव देखिएको छ। प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कुल ५ सिट जितेको राप्रपाले उक्त दुई-तिहाइको खाडल पुर्न सक्ने हैसियत राख्छ।
थापाले लेखेका छन्, "यदि बालेन सरकारले नेपाललाई हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राप्रपाका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ।" रास्वपाले हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरिसकेको छ। अब दुई-तिहाइ बहुमतका लागि साना दलहरूसँगको सहकार्य बालेनका लागि निर्णायक हुन सक्छ।