काठमाडौँ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई आम निर्वाचनमा प्राप्त ऐतिहासिक सफलताका लागि बधाई दिएका छन्। बिहीबार पाकिस्तानी राजदूतावासमार्फत पठाइएको पत्रमा शरीफले नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रशंसा गरेका छन्।
प्रधानमन्त्री शरीफले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन नवनिर्वाचित नेतृत्वसँग नजिक रहेर सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेका छन्। रास्वपाको यो जितमा अन्तर्राष्ट्रिय स्तरबाट बधाई आउने क्रम जारी छ। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पत्रमार्फत रवि र बालेनलाई बधाई दिइसकेका छन्।
यही फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १६५ मध्ये १२५ सिटमा सानदार जित हासिल गर्दै बहुमत प्राप्त गरेको छ। सभापति रवि लामिछाने चितवन–२ र प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह झापा–५ बाट भारी मतले विजयी भएका छन्। रास्वपाले समानुपातिकतर्फ पनि ठूलो मात्रामा मत प्राप्त गरेको छ।