काठमाडौँ।
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई नैतिकताको आधारमा राजीनामा नदिन सुझाव दिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले समस्या देखेर भाग्ने भन्दा पनि पार्टीको उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको बताएका छन्।
"युवाहरूले कांग्रेस छोड्दै गएको यो कठिन समयमा पार्टीलाई सुधारको 'औषधि' खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन," भण्डारीले लेखेका छन्। उनले अहिलेको अवस्थामा राजीनामा दिनुभन्दा छिटो महाधिवेशन (अधिवेशन) मा जानु नै जिम्मेवार र समयसापेक्ष बाटो हुने तर्क गरे।
नेता भण्डारीले कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व भएको उल्लेख गर्दै इच्छाशक्ति र साहसका साथ अघि बढेमा पार्टीलाई पुनर्जीवन दिन सम्भव रहेको बताएका छन्। निर्वाचनको परिणामपछि नेतृत्वमाथि प्रश्न उठिरहेका बेला भण्डारीको यो सुझाव आएको हो।