दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

Author

सजिलो पत्रिका

२०८२ फागुन २५, सोमबार

24
Share
Featured

काठमाडौँ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनःस्थापनाको माग राख्दै २१० दिनअघि सुरु गरेको अनशन आज अन्त्य गरेका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन् ।

कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि विस्थापित परिवारले अनशन अन्त्य गरेका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले विगत लामो समयदेखि पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछिल्लो समय विस्थापित परिवार कृष्णपुर नगरपालिका–२ वनहरा नजिक सडक छेउमा पाल टाँगेर निरन्तर अनशनमा थिए । उनीहरुले सरकार तथा सरोकारवाला निकायलाई समस्या समाधानका लागि दबाब दिँदै आएका थिए ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बोहराले विस्थापित परिवारको समस्या गम्भीर रहेकाले यस विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा गठन भएका विभिन्न आयोगले तयार पारेका प्रतिवेदन अध्ययन गरेर पुनःस्थापनाका लागि ठोस पहल गर्ने बताउनुभयो । “तपाईंहरूका समस्या धेरै वर्षदेखि समाधान हुुनुपर्ने थियो, भएन”, उहाँले भन्नुभयो, “तपाईहरुसँग थप छलफल, अन्तक्र्रिया गरेर समाधानको बाटो खोज्नेछु ।” सडकछेउमा बसेर अनशन गर्दा दुर्घटनाको जोखिमसमेत रहेको उल्लेख गर्दै उहाँले अनशन तोड्न आग्रह गर्नुभएको थियो । 

अनशन तोड्ने क्रममा आरक्ष विस्थापित सङ्घर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले नवनिर्वाचित सांसद बोहरामाथि विश्वास गरेर आफूहरूले अनशन अन्त्य गरेको बताउनुभयो । “हामीले तपाईँलाई भरोसा गरेर संसद्मा पठाएका छौँ”, उहाँले भन्नुभयो, “विगतका सांसद र सरकारहरूले देखाएकोजस्तो व्यवहार दोहोरिनुहुँदैन भन्ने हाम्रो अपेक्षा छ ।”

भट्टका अनुसार आरक्ष विस्थापितको समस्या समाधान गर्न हालसम्म ३४ वटा आयोग गठन भए पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन । 

भट्टका अनुसार विस्थापित परिवारको पुनःस्थापनामा कहिले वन ऐनले अवरोध गरेको बहाना देखाइयो भने कहिले सरकारको अस्थिरताका कारण समस्या समाधान हुन नसकेको बताइयो । उहाँले आफूहरू विस्थापित हुनुअघि पाँच बिघा जमिनका मालिक रहेको स्मरण गर्दै अहिले घरवारविहीन अवस्थासम्म आइपुगेको दुःखेसो व्यक्त गर्नुभयो ।

विस्थापित परिवारका अनुसार हालसम्म दुई हजार ४७३ परिवार विभिन्न शिविरमा बस्दै आएका छन् । उहाँहरु स्थायी पुनःस्थापनाको प्रतीक्षामा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् ।

यो समाचारमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकञ्चनपुर जिल्लाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...