काठमाडौँ।
कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २६ वर्षीय उम्मेदवार केपी खनाल भारी मतका साथ विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खनालले १९ हजार ५७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरे। चौधरीले ११ हजार ९४९ मत पाएका छन्।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सूर्यबहादुर थापाले ७ हजार ८८६ र नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरे। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निकट मानिने खनालले कलिलो उमेरमै संसदको यात्रा तय गरेका हुन्।
अछाममा जन्मिएर कैलालीलाई कर्मथलो बनाएका खनाल सामाजिक अभियन्ताका रूपमा परिचित छन्। 'क्लिन काष्ठमण्डप' जस्ता सरसफाइ अभियानबाट चर्चामा आएका उनले विभिन्न राष्ट्रिय युवा पुरस्कार र जनसेवा श्री पदक समेत पाएका छन्। भ्रष्टाचारमुक्त प्रशासन र युवा स्वरोजगारलाई मुख्य मुद्दा बनाएका खनालले कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको बलियो पकड रहेको यस क्षेत्रमा पुराना र पाका नेताहरूलाई स्तब्ध पार्दै जित निकालेका हुन्। यसअघि यो क्षेत्रमा कांग्रेस, एमाले र माओवादीले पालैपालो जित्दै आएका थिए।