काठमाडौँ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मा आफ्नो राजनीतिक गढ मानिने रुकुम पश्चिममा पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार शर्मा तेस्रो स्थानमा खुम्चिएका हुन्।
उक्त क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी भएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत ल्याउँदा जनार्दन शर्माले १४ हजार ३४६ मत मात्रै प्राप्त गरे।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग एकता गर्ने निर्णय गरेपछि शर्माले असन्तुष्टि जनाउँदै 'प्रगतिशील लोकतान्त्रिक पार्टी' गठन गरी चुनाव लडेका थिए। मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका शर्मा अन्तिम परिणाम आउँदा भने तेस्रो स्थानमा पुगेका हुन्। रुकुम पश्चिममा लामो समयदेखि कायम उनको वर्चस्व यसपटक तोडिएको छ।