काठमाडौँ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा. तोसिमा कार्की भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३४ हजार ५१ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेकी हुन्।
निर्वाचन परिणामअनुसार तोसिमाले ४३ हजार ९६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत मात्र पाए। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ६ हजार २२, नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७, राप्रपाका सविनकुमार खड्काले २ हजार ३७ र श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत प्राप्त गरे।
विजयी भएपछि डा. कार्कीले निर्वाचन अधिकृतबाट प्रमाणपत्र ग्रहण गरेकी छन्। यसअघि २०७९ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। यो जितसँगै ललितपुर–३ मा रास्वपाले आफ्नो वर्चस्व कायम राखेको छ।