काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता तथा पूर्वसञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङआफ्नै गृहजिल्ला लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले करिब दोब्बर मतान्तरले पराजित गरेका हुन्।
मुख्य निर्वाचन कार्यालय लमजुङका अनुसार विजयी केसीले ३३ हजार ८९८ मत प्राप्त गरे भने गुरुङ १६ हजार ८७६ मतमा सीमित भए। यस्तै, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले ३ हजार ३७१ मत प्राप्त गरेका छन्।
गुरुङ सञ्चारमन्त्री रहँदा तत्कालीन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र त्यसपछि सुरु भएको 'जेनजी आन्दोलन' को प्रभाव यस निर्वाचन परिणाममा स्पष्ट देखिएको विश्लेषण गरिएको छ। लमजुङमा कुल १ लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ४६० मत खसेको थियो। 'जेनजी आन्दोलन' पछि गठित अन्तरिम सरकारले फागुन २१ गते यो निर्वाचन सम्पन्न गराएको हो।