काठमाडौँ।
चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की उम्मेदवार सोबिता गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले ५९ हजार २७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई ३८ हजार ६६२ को फराकिलो मतान्तरले पराजित गरेकी हुन्। दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्।
यस निर्वाचनमा ठूला दल मानिने नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रदर्शन निकै निराशाजनक रह्यो। कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ र एमालेका शंकरराज थपलियाले ५ हजार ४ मत मात्र पाए। दुवै उम्मेदवारले कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि उनीहरूको जमानत जफत भएको छ।
यसअघि २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जितेको यस क्षेत्रमा यसपटक राप्रपाका उम्मेदवार दिपक थापा मगर १ हजार २२६ मतमा सीमित भए। सोविता गौतमको यो जितलाई यस निर्वाचनकै सबैभन्दा प्रभावशाली परिणाममध्ये एक मानिएको छ।