काठमाडौँ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनालले नेपाली काँग्रेसका विनोद चौधरीलाई पछि पार्दै अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार खनालले ३ हजार २८० मत प्राप्त गर्दा चौधरी १ हजार ४२० मतका साथ दोस्रो स्थानमा छन्।
खनाल र चौधरीबीच १ हजार ८६० मतको अन्तर रहेको छ। नेपाली कांग्रेसका पूर्व लुम्बिनी प्रदेश महामन्त्री समेत रहेका खनाल यसपटक रास्वपाबाट उम्मेदवार बनेर चौधरीका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन्।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डे १ हजार १०९ मतका साथ तेस्रो स्थानमा छन् भने हृदयेश त्रिपाठीले ७३१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा मतगणना कार्य जारी छ र खनालले सुरुवाती चरणदेखि नै आफ्नो पकड बलियो बनाएका छन्।