काठमाडौँ।
निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको अन्तिम मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो नतिजा दिने गरी तयारी पूरा भएको जानकारी दिएका हुन्।
आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको गणना पनि सँगसँगै अगाडि बढाइनेछ। विकट पहाडी तथा हिमाली क्षेत्रबाट मतपेटिका संकलन गर्न समय लाग्ने भए पनि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर छिटोभन्दा छिटो संकलन गरिने भण्डारीले बताए।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगको यो प्रतिबद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका छन्। साथै, उनले निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउनु सामान्य प्रजातान्त्रिक प्रक्रिया भएको उल्लेख गरे।