काठमाडौँ।
सिराहाको गोलबजार नगरपालिका , सिराहा-२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लागेर एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय सन्तोष साह रहेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गरेर पानी छ्याप्ने क्रममा साहले टिपरको पछाडिको भाग (ढाला) उठाएका थिए। सोही क्रममा ढालाले माथि रहेको विद्युतको तारमा छोएपछि टिपरमा करेन्ट प्रवाह भएको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएपछि टिपरको केही भागमा आगलागी भई क्षति समेत पुगेको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।