काठमाडौँ।
नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज तीनवटा ठूला चुनावी आमसभाको आयोजना गरेको छ। पार्टीका शीर्ष नेताहरू चुनावी माहोल तताउन आज देश दौडाहामा निस्किएका हुन्।
पार्टीका अनुसार आज बिहान ११ बजे रूपन्देहीको बुटवल, दिउँसो १ बजे बागलुङ बजार र दिउँसो ३ बजे कास्कीको पोखरास्थित अमरसिंहचौरमा चुनावी सभाहरू हुनेछन्। यी तीनवटै आमसभालाई पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
पोखरामा हुने विशेष सभाबारे जानकारी दिँदै नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहने बताए। आमसभामार्फत 'बदलिएको कांग्रेस'को स्पष्ट विचार, नीति, कार्यशैली र आगामी ५ वर्षको ठोस योजनाबारे जनतालाई प्रत्यक्ष जानकारी दिइने कांग्रेसले जनाएको छ।