काठमाडौँ।
सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरीको छिन्नमस्ताका ४७ वर्षीय गिरिजानन्द साह रहेका छन्।
बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलमा बिहीबार बिहान को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ऋषिदेवको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दिपेन ऋषिदेव घाइते भएका छन्।
यस्तै, ईटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारको ठक्करबाट पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका साहलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको कारले अर्को टेम्पोलाई समेत ठक्कर दिँदा टेम्पो चालक वसन्त घिसिङ, यात्रु प्रेमकुमार गुरुङ र कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।