काठमाडौँ।
निर्वाचन आयोगले हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका ८५ वटा उजुरी प्राप्त भएको जनाएको छ। ती उजुरीका आधारमा आयोगले ७९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएकामध्ये ५४ वटाको जवाफ प्राप्त भइसकेको र त्यसको अध्ययन भइरहेको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिए।
आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था र सञ्चारमाध्यमलाई समेत स्पष्टीकरण मागेको छ। सञ्चारमाध्यम र पत्रकारको हकमा प्रेस काउन्सिलमार्फत कारबाही प्रक्रिया अघि बढाइएको छ। विशेषगरी निर्वाचनअघि मत सर्वेक्षण गरी हारजितको भविष्यवाणी गर्ने अनलाइनहरूलाई पनि काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ।
आचारसंहिता कार्यान्वयनका लागि ७७ वटै जिल्लामा अनुगमन अधिकृतहरू खटाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई सामान्य विषय र कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। आयोगले आचारसंहिताको प्रभावकारी पालना गराउन र उल्लङ्घनका घटना न्यूनीकरण गर्न अनुगमनलाई तीव्र पारेको जनाएको छ।